प्राधिकरणले बढी महसुल लिने ग्राहकको लाइन काट्ने (प्रतियुनिट महसुल दर)-
काठमाडौं, १२ पुस । नेपाल विद्युत प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्ने व्यवस्था मिलाएको हो ।
विनियमावली अनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने भएको छ ।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवाल अब बढी महसुल लिएको प्रमाणसहितको उजुरी भएमा घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने बताए । ‘एकैपटक काट्छौं भनेका हैनौं,’ उनी भन्छन्, ‘बढी महसुल लिएको जानकारी भएमा सचेत गराउँछौं, तर अटेरी भएमा लाइन काट्न पनि सक्छौं ।’
विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेको छ । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् ।
जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र छ । यसरी घरबेटीले महिनैपिच्छे बढी पैसा असुलिरहँदा पनि ग्राहकले औपचारिक रुपमा गुनासो गर्ने व्यवस्था नै थिएन । प्राधिकरणले पनि ठगी मुद्धामा रुपमा प्रहरीले मात्रै यसलाई हेर्न सक्ने बताउने गरेको थियो ।
अन्यायपूर्वक विद्युत महसुल बढी लिइरहँदा पनि ग्राहकलाई चुप बस्नु परेपछि प्राधिकरणले भाडामा बस्नेले पनि छुट्टै मिटर लिनसक्ने र घरबेटीलाई कारवाही गर्ने व्यवस्था एकसाथ गरेको छ ।
सामान्यतया घरबेटीले प्रत्येक फ्ल्याटमा सबमिटर राखेर त्यसमा उठेको अंकका आधारमा महसुल भाडावालासँग महसुल लिन्छन् । तर, त्यसो गर्दा अधिकांशले १५ रुपैयाँ प्रतियुनिट भन्दा बढीले हिसाब गर्ने गरेका छन् । प्रष्ट हिसाव नहुँदा डेरावालहरु ठगिदै आएका छन् ।
घरेबेटीहरुले डेरावालसँग चर्को विद्युत महसुल उठाउने प्रवृत्ति र यसबारेको गुनासो काठमाडौंमा मात्र नभएर देशभर नै रहेको छ । कतिपय घरेबटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन् । त्यसैले घरबेटीले जति माग्यो उति दिनुपर्ने बाध्यतामा धेरै डेरावालहरु छन् ।
वितरण सेवका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानूनी हो ।
कति तिर्ने शुल्क ?
प्राधिकरणले सेवा शुल्कसहित विद्युत महसुल निर्धारण गरिएको सिलवालले बताए । गाह्रस्थ ग्राहकको हकमा विद्युत महसुल प्रतियुनिट ३ देखि ११ रुपैयाँ र सेवा शुल्क ३० देखि २५० रुपैयाँसम्म छ ।
कुल खपतका आधारमा बिजुली महसुल तोकिने भएकाले डेरामा बस्नेले त्यो हेरेर आफूले कति महसुल तिर्नुपर्ने हो भन्न एकीन गर्न सकिने छ । ‘घरमा जोडिएको लाइनको क्षमताअनुसार कुल उठेको बिजुलीको युनिट जुन स्ल्याबमा पर्छ त्यहीअनुसार आफ्नो कोठाको सबमिटरमा उठेको युनिटको हिसावको महसुल तिर्दा हुन्छ,’ उनले भने,’उठेको युनिटका आधारमा सो स्ल्याबमा लाग्ने डिमान्ड शुल्क घरमा बस्नेहरुबीच औसत दरमा हिसाव गर्दा हुन्छ ।’
हाल २० युनिटसम्मको खपतमा थप ३० रुपैयाँ सेवा शुल्क तिर्दा हुन्छ । २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । यदि कुनै डेरा, फ्ल्याट वा अर्पाटमेन्टमा बस्नेले छुट्टै मिटर राख्न चाहे तुरुन्तै उपलब्ध गराइन प्राधिकरणले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्