महिला भलिबल टोली लगातार दोस्रो पटक फाइनलमा
काठमाडौँ , १२ पुस । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा नेपाली महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको छ ।
सोमबार सहिद सुरावर्दी कर्भडहलमा भएको खेलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।
सुरुआतबाटै दबाब बनाएको नेपालले २५.८, २५.१४, २५.१६ ले खेल आफ्नो पक्षमा पारेको हो । सलिना श्रेष्ठ, शान्ति थारु, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी लगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल लगातार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
अब, नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग खेल्नेछ ।
बिहीबार शुरू प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाली महिला टोलीले श्रीलंकासँग ३–२ को जित निकालेको थियो । दोस्रो खेलमा माल्दिभ्स, तेस्रो खेलमा आयोजक बंगलादेश र चौथो खेलमा उज्वेकिस्तानलाई सोझो सेटमा हराएको थियो ।
यसअघि महिला टोलीले बंगलादेशमा नै भएको एभिसी सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा साविक विजेता नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोलीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्