सगरमाथाको प्रवेशद्वार कटारीमा प्याराग्लाईडिङ्ग परीक्षण सफल

काठमाडौँ , १२ पुस । माथिल्लो सगरमाथा क्षेत्र भनेर चिनिने शोलुखुम्बु, ओखलढुङ्गा, खोटाङको मुख्य प्रवेशद्वारको रुपमा रहेको उदयपुरको कटारी नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाईडिङ सञ्चालन गर्ने भएको छ।

पालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार पर्यटकीय सम्भावना बोकेको कटारी नगरमा प्याराग्लाईडिङको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न लागिएको उनले बताए । त्यहाँ चारदिनअघि मात्र प्याराग्लाईडिङ्गको सफल परीक्षण उडान गरिएको थियो ।

नगरपालिकाको वडा नम्बर ७ स्थित मर्जेतको ७५० मिटरको उचाईबाट २५० मिटर तल वडा नं.५ को सिमसार क्षेत्र आसपासमा झर्नेगरी प्याराग्लाईडिङ्गको परीक्षण गरिएको हो । उक्त सफल परिक्षणले पालिकाबासीलाई उत्साहित बनाएको छ । “हाम्रो परीक्षण सफल भयो” मेयर श्रेष्ठले भन्नुभयो “अव सम्बन्धित निकायबाट स्विकृति लिएर व्यवसायिक ढंगले प्याराग्लाईडिङ सञ्चालन गर्ने सोच रहेको उहाको भनाइ छ ।”

परीक्षणका क्रममा प्याराग्लाईडिङ उडानको अनुभव गरेका मेयर श्रेष्ठले कटारीलाई माथिबाट राम्ररी अवलोकन गर्न पाउनुभयोे । कटारी बजार क्षेत्रलाई सुन्दर सहर, आसपासको खोला–नदी, सडक सञ्जाल, सिमसार क्षेत्र, हरियाली बनपाखा र गाउँबस्तीको सुन्दर दृष्य देखिएको उहाँले बताउनुभयो । प्याराग्लाइडिङ एक शाहसिक काम भएको र उडेर नौलो अनुभूति गर्न पाएको उपमेयर भिमकुमारी राउतले बताउनुभयो ।

प्याराग्लाईडिङ्गका पाईलट दिलकुमार सुनुवारका अनुसार कटारी क्षेत्रमा प्याराग्लाईडिङ्गको सम्भावना राम्रो देखिएको छ । प्याराग्लाइडिङको लागि उपयुक्त वातावरण र भूगोल रहेको सुनुवारको भनाई छ । द बाबु एडभेन्चर ईन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षकहरुले उडान भरेका हुन् ।

कटारीलाई हिमाली भेग र नजिकमा पर्ने जिल्लाहरु शोलखुम्बुुु, ओखलढुङ्गा, खोटाङ लगायतको मुख्य प्रवेशद्वार मानिन्छ । ती जिल्लाका पर्यटकीय गतिविधिसँग कटारीको सडक सम्बन्ध रहेको छ । यसै कारणले पनि पर्यटकहरुको आकर्षण र प्याराग्लाईडिङको व्यवसायिक सम्भावना त्यहाँ देखिएको मेयरले जनाउनु भयो ।

प्याराग्लाईडिङसँगै त्याहाँ जीपलाईन सञ्चालनका लागिसमेत परीक्षण सुरु गरिएको छ । गडी पर्यटन विकास समितिका अध्यक्ष सूर्य तामाङ्गका अनुसार प्याराग्लाईडिङ्गसँगै जीपलाईन पनि संञ्चालनका लागि परीक्षण सुरु भएको हो ।

उदयपुरको बेलका नगरपालिकामा पनि प्याराग्लाईडिङको सफल परीक्षणपछि बेलाबेला सञ्चालनसमेत भइरहेको छ । रौतामाई गाउँपालिकाले पनि प्याराग्लाईडिङ परीक्षण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्