एमसीसी नेपालकाे हितमा छ, म पनि देशको प्रधानमन्त्री हुँ , राष्ट्रघाती सम्झाैता गराैँला ?: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा रहेको बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा उनले एमसीसी राष्ट्रघाती भन्नेले सम्झौता नै नपढेको बताए ।

“एमसीसी राष्ट्रघाती भन्नेले पढेकाे छ कि छैन ? म पनि देशको प्रधानमन्त्री हुँ । राष्ट्रघाती सम्झाैता गराैँला ? नेपालकाे हितमा छ । सित्तैमा आएकाे पैसा हाे । बुझ्नुपर्‍यो क्या,” उनले भने ।

उनले गठबन्धन पूरा समयसम्म रहने पनि बताए ।

एमसिसीबारे प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै :

मैले यहाँ एउटा कुरा भन्नैपर्नेभयो। एमसिसी राष्ट्रघाती,राष्ट्रघाती भनिएको छ। म यहाँ अरू कुरा भन्न चाहन्नथेँ। तर,राष्ट्रघाती भन्नेले पढेको छ कि छैन। पढ्नुपर्‍यो कहाँनिर छ राष्ट्रघाती? मैले हेरेँ । राष्ट्रघात देखेको छैन मैले त। म पनि त नेपालको प्रधानमन्त्री हुँ। नेपाल राष्ट्रको खिलाफमा जाउँला मैले? म पनि प्रजातन्त्रका लागि लडेको ,राष्ट्रका लागि लडेको मान्छे हो। के राष्ट्रघातको काम गरुँला मैले? राष्ट्रघाति सन्धि मैले किँन गरुँला? यसकारण हामीहरू यसमा यस सम्बन्धमा तपाईंहरूले पढ्नुस् । हाम्रो बीचमा छलफल हुँदै छ। प्रचण्डजी र अरू नेताहरसँग छलफल भइरहेको छ। यो एमसिसी एकदमै नेपालको हितमा छ। सित्तैमा आएको पैसा हो यो। सित्तैमा आएको पैसा चाँहिदैन भन्छन्। वर्ल्ड बैंक र एडिबीसँग हामी ऋण लिन्छौँ। जहाँ अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ। एमसिसीमा नेपालको कानुन लागू हुन्छ तैपनि मान्दैनन्। राम्रोसँग बुझ्नुपर्‍यो। यसमा व्यापक छलफल गरेर विश्वास र सहमति भएपछि हामी यसलाई पास गराउनेछौँ।

देउवाले नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । माओवादी केन्द्रको ८औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले प्रचण्डले नेपालको राजनीतिमा ठूलो योगदान गरेको बताए ।

प्रधानमन्त्री देउवाले प्रचण्डका कारण देशले संविधान पाएको बताए । उनले समावेशी, संघीयता र गणतन्त्र भएको संविधान ल्याउनमा प्रचण्डको महत्वपूर्ण योगदान रहेको बताए ।“मुलुकले पाएको संविधान ल्याउन प्रचण्डको महत्वपूर्ण र ठूलो योगदान छ,” उनले भने ।

देउवाले गठबन्धनको सरकार कसैका विरुद्ध नभएको पनि बताए । संसद्लाई पूरा अवधि चलाउनका लागि गठबन्धन बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्