माओवादी महाधिवेशनस्थलको चहलपहल बढ्यो, ओली बाहेकका शीर्ष नेताहरु सहभागी हुने

काठमाडौँ, पुस ११ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आज हुँदैछ । दिउँसो ३ बजेदेखि सुरू हुने महाधिवेशनमा १६ सय ३१ प्रतिनिधिहरु सहभागी हुनेछन् । प्रतिनिधिहरु आउने क्रमसँगै प्रज्ञा प्रतिष्ठानमा यति बेला चहलपहल बढेको छ ।

महाधिवेशनलाई ख्याल गर्दै त्यहाँको सुरक्षा पनि निकै बढाइएको छ । अधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा९एस०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् । ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए । तर ओली झापामा छन् । उनले पार्टीका अन्य नेतालाई पठाउने जानकारी दिएका थिए । एमालेको तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना छ ।

प्रधानमन्त्री पनि सहभागी हुने भएपछि महाधिवेशनको सुरक्षा योजना परिवर्तन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्