अध्यक्ष, वरिष्ठसहित सात उपाध्यक्ष, महासचिव र तीन सचिव रहने प्रस्ताव पेश
काठमाडौँ , ११ पुस । नेकपा माओवादी केन्द्रको आज विहान बसेको बैठकमा मुख्य तीन वटा प्रस्ताव पेश भएको छ ।
आज दिउँसो ३ बजे उद्घाटन हुने भनिएको प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनको रुपमा स्वीकार गर्ने, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुद्वारा २१ औं शताब्दीमा समाजवाद हाम्रो बाटो शीर्षकको प्रतिवेदन पेश गरिएको र विधानमा केही परिमार्जन गरी अध्यक्षसहित १५ जना पदाधिकारीको प्रस्ताव बैठकमा पेश भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो ।
जसमध्ये राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने विषयमा सर्वसम्मतले स्वीकार भएको महरा बताउनुहन्छ ।
आजदेखि पुस १५ गतेसम्म चल्ने महाधिवेशनमा छलफल पश्चात् पारित हुने पनि उहाँले बताउनुभएको छ । माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव पेश भएको उहाँले बताउनुभयो ।
यसैगरी, देशका सबै राजनीतिक दलहरुलाई पनि महाधिवेशनमा अतिथिका रुपमा उपस्थिति हुन निमन्त्रणा पनि गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनमार्फत् निमन्त्रणा दिइएको विषयमा बोल्नुहुदै उहाँले ओली पनि आउनुहुने प्रतिक्रिया दिनुभएको छ । ‘उहाँ पनि आउनुहुन्छ । अब त्यो आफ्नो पार्टीको अधिकारको कुरा हो । प्रतिनिधि आउनुहुनेछ ।’, उहाँले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्