अध्यक्ष प्रचण्डद्धारा माओवादीको केन्द्रीय कमिटीको आकार बढाउन प्रस्ताव

काठमाडौँ , ११ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ ।

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार केही बढ्ने बताए । ‘बैठकमा प्रस्ताव भएको २९९ सदस्यीय भन्दा केही प्लस हुन्छ ’उनले जनाए ।

नेकपा माओवादीको अन्तरिम विधानमा केन्द्रीय कमिटी सदस्यको संख्या २९९ सदस्य रहने भनिएको छ । तर आइतबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य केही बढाउने गरी आजको बैठकमा प्रस्ताव पेश भएको उनको भनाइ छ ।

यस्तै पदाधिकारी पनि १५ सदस्यीय रहने प्रस्ताव गरिएको छ । जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्