आफ्नै टिमको असहयोगले महामन्त्रीमा पराजित हुनुपर्यो : नेता डा. प्रकाशशरण महत
काठमाडौं ,पुस ९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले आफ्नै टिमबाट असहयोग हुँदा महामन्त्री पदमा पराजित भएको बताएका छन् ।
१४ औं महाधिवेशनका महामन्त्रीका उम्मेद्वार डा। महतले शुक्रबार अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा पत्रकार सम्मेलन सो गुनासो गरेका हुन् । नतिजा अपेक्षाअनुसार नआए पनि त्यसलाई स्वीकार गर्ने उनको भनाइ रहेको थियो ।
‘बाधा ब्यवधानका बावजुद जुन मत पाएँ त्यो मलाई माया गर्नेहरुको मत हो। यसले मलाई उर्जा थपेको छ’ उनले भने, ‘टिमको आधारमा मतदान भए पनि इन्ट्याक्ट ९एकजुट भएर० देखिएन । मैले सहयोग पाइनँ । कमी कमजोरी मबाटै रहेको होला । अरुलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन ।’ नेता महतले महामन्त्री तहमा मात्रै प्यानल बाहिर मत आएकोबारे पार्टीले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए । डा। महतले भने, ‘महामन्त्री तहमा मात्रै त्यो किसिमको नतिजा आएको छ । मूल्यांकन होला । टिकाटिप्पणी गर्न उपयुक्त ठान्दिनँ ।’
उनले पद नपाए पनि काम गर्ने प्रतिवद्धता जनाएका छन् । साथै, घात भए नभएको अनुसन्धान गर्न कार्यकर्तासँग आग्रह पनि गरे । ‘अनेपेक्षित परिणामप्रति चासो र चिन्ता छ । काममा विश्वासमा गर्ने मान्छे हुँ । सुख दुःख भोगेको मान्छे हुँ । पद प्राप्तिका लागि उछल कुद गर्ने, नपाए सिरक ओढेर सुत्ने मान्छे होइन । झनै सक्रिय हुन्छु’ उनले भने, ‘अनुसन्धानका आधारमा तपाईहरुले गर्ने कुरा हो, घात भए नभएको । मैले यसले यो गर्यो उ गर्यो भन्दिनँ ।’















प्रतिक्रिया दिनुहोस्