कैलालीमा हत्याको श्रृङ्खला बढ्दै: सांसद रावलले भेटे गृहमन्त्री, सुरक्षाकर्मीको उपस्थिति बढाउन माग

काठमाडौं, पुस ९ । कैलालीमा हत्याको श्रृङ्खला बढ्दै जान थालेको छ । यहाँ एउटा घटना सेलाउन नपाउँदै लग्तै फेरि अर्को विभत्स हत्याका घटना दोहोरिन थालेका छन् । अघिल्लो महिना चक्कु प्रहारबाट ज्यान गुमाएका लम्कीका भूपेन्द्र बडुवालको हत्याकाण्ड सेलाउन नपाउँदै फेरि २५ वर्षीय युवकको विभत्स हत्या भएको छ ।

कैलालीको सुदूरपूर्वी क्षेत्र नम्बर २ अन्तर्गत लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिका , टिकापुर लगाएतका क्षेत्रमा जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दै गइरहेका हुन् । कार्तिक २३ गते लम्कीका युवक बडुवालको टीकापुरमा खुकुरी प्रहारबाट हत्या भएको घटना सुल्झिन नपाउँदै फेरि जानकी गाउँपालिका वडा नं. ९ अमरावतीका २५ वर्षीय अरुण दासको हत्या भयो ।

दासको अमरावती सामुदायिक वनमा रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ मात्रै शव फेला परेको थियो । यसरी हत्याका घटना बढ्दै गएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । प्रहरीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उनीहरु आक्रोशित बनेका हुन् । केही हप्ता अगाडिमात्रै कैलालीको मोहन्यालमा घोडाघोडी नगरपालिका–१ जनकपुरका एक व्यापारीको हत्या भएको थियो ।

हत्यामा संलग्नहरु फरार छन् । प्रहरीले समात्न नसेको भन्दै मृतकका आफन्त तथा स्थानीय सडकमा छन् । आफ्नो सन्तान गुमाउनु पर्दाको पीडा एकातिर छ भने अर्को तिर न्याय नपाउनुको । न्याय माग्दै अदालतमा धाउदाँ पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको लगाए पनि गुपचुपमै मिलाउने गरेको उनीहरुको गुनासो छ ।

हत्यामा संलग्नलाई पक्राउ गर्न भन्दै स्थानीय निरन्तर आन्दोलनमा छन्। हत्यामा स‌लग्नलाई कार्बाहीको माग गर्दै यहाँका स्थानीयले आज पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन्। दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा सजाय हुनुपर्ने उनीहरुको माग छ। दासको हत्या घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ।

यता यसरी कैलालीमा अपराधका घटना बढेपछि सांसद रावलले गृहमन्त्रीलाई भेटेका छन् । , कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका सांसद झपट बहादुर रावलले गृहमन्त्री बालकृष्ण खाडसँग भेटवार्ता गरेका हुन् ।कैलालीस्थित आफ्नो निर्वाचन क्षेत्रमा पछिल्लो समय अपराधिक घटनाहरु बढिरहेको भन्दै सांसद रावलले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयमा शुक्रबार ज्ञापनपत्र बुझाउँदै रावलले जनताको जिउधनको सुरक्षासहित शान्तिपूर्ण ढंगले बाच्न पाउने अधिकारको सृजना गर्न माग गरेका छन् ।एकपछि अर्को गरी भइरहेका विभत्स हत्याका घटनाले स्थानीय आतंकित भइरहेको भन्दै रावलले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे ।

यस क्षेत्रका प्रहरी कार्यालयमा सुरक्षाकर्मीहरुको संख्या पनि आवश्यकताभन्दा कम रहेको जानकारी गराउँदै रावलले थप सुरक्षाकर्मीहरुको व्यवस्थासहित प्रहरी कार्यालयलाई साधनस्रोत सम्पन्न बनाउन पनि माग गरे ।आपराधिक क्रियाकलापलाई यथाशिघ्र नियन्त्रणमा ल्याई जनताको जिउज्यानको सुरक्षाको साथै शान्तिको प्रत्याभूति दिलाउन उनको माग छ ।

यसका लागि सांसद रावलले लम्कीचुहा नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय मोतिपुरलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मातहतमा रहने गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।त्यसैगरी जानकी गाउँपालिकास्थित अमरावती प्रहरी चौकीमा थप प्रहरी सुरक्षाकर्मी तत्काल उपलब्ध हुने व्यवस्था मिलाउन माग गरेका छन् । यता रावलको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डेलाई तत्काल सुरक्षा व्यवस्था गर्न आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्