महिलालाई ट्रकले ठक्कर दिएलगत्तै ब्याक गरेर ‘हत्या’, सडक खण्ड अवरुद्ध

काठमाडौं, पुस ९ । इटहरी धरान सडकखण्डमा ट्रक ब्याक गरेर एक महिलाको हत्या भएको छ। इटहरीबाट धरान जाँदै गरेको ट्रकले सुरुमा ठक्कर दिएको थियो।ठक्करबाट घाइते भएकी पैदल यात्री महिलालाई पुनः ट्रक पछाडी सारेर हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शी सीता खड्काका अनुसार मृतकले उठ्न खोज्दा ट्रक पछाडि सरेको थियो। केही अगाडि पुगिसकेको समयमा ‘ट्रक ब्याक गरेर’ टाउकोमाथि पछाडिको चक्का चढाएको प्रत्यक्ष देखेको उनले बताइन्।  कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी इटहरी–४ की ६२ वर्षीया देवी खड्कालाई प्र। १–०–२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको हो।

उता प्रहरीले भने उपचारको क्रममा मृत्यु भएको बताएको छ। प्रहरीका अनुसार ट्रक चालक पेम्बा शेर्पा प्रहरी नियन्त्रणमा छन्। हाल स्थानीयले धरान इटहरी सडक खण्ड अवरुद्ध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्