काँग्रेसको कोषाध्यक्षमा महिलाको सम्भावना : यी हुन् ४ दाबेदार आकांक्षी

काठमाडौँ , ९ पुस । नेपाली काँग्रेसको कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्ने सम्भावना बढेको छ ।

नवनिर्वाचित १३ पदाधिकारी मध्ये एक जना मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई मनोनित गर्ने सम्भावना बढेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी छन् भने बाँकी पदाधिकारी पुरुष मात्र रहेका छन् ।

काँग्रेसको १४ सदस्यीय पदाधिकारीमा १३ जना १४ औं महाधिवेशनबाट निर्वाचित भएर आएका हुन् भने कोषाध्यक्ष केन्द्रीय सदस्यबाट मनोनित गरिने छ ।

पदाधिकारीमा महिला उपस्थिति बढाउन कोषाध्यक्षमा केन्द्रीय सदस्यमा निर्वाचित महिला मनोनित गर्न लागिएको काँग्रेसका पदाधिकारीले बताए । उनले भने, ‘नयाँ पदाधिकारीमा एक जना मात्र महिला हुनुहुन्छ । त्यसैले कोषाध्यक्ष महिला नै हुने सम्भावना बढी छ । पछिल्ला वर्ष महिला नै कोषाध्यक्ष हुनुभएको थियो । उहाले राम्रो काम गनि गर्नु भएको छ । यस पटक पनि महिलाबाट कोषाध्यक्ष आउने सम्भावना बढी छ ।’

महिलालाई कोषाध्यक्ष बनाउने कुरामा सभापति शेरबहादुर देउवा पनि सकारात्मक रहेको उनको भनाइ छ । कोषाध्यक्षका लागि नेतृ चित्रलेखा यादव, पुष्पा भुसाल, डिला संग्रौला र अम्बिका बस्नेत आकांक्षी छन् । यादव पूर्व कोषाध्यक्ष समेत हुन् भने भुसाल काँग्रेस संसदीय दलका सचेतक छिन् । संग्रौला महिला खुलातर्फ सर्वाधिक मत ल्याएर विजयी भएकी हुन् भने बस्नेत पूर्वमन्त्री समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्