प्रधानन्यायाधीशलाई महाभियोग लाग्न सक्छ : बार अध्यक्ष श्रेष्ठ
काठमाडौं पुस ८ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लाग्न सक्ने संकेत गरेका छन्।
बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको संकेत पाएको बताए।
उनले प्रधानन्यायाधीशले चाहेजस्तै गरी संसदमा प्रधानन्यायाधीशको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने बताए।
भने, ‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्षीसम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले आवाज उठाउँदै आएका छौं। यसतर्फ अहिले दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो कि भन्ने संकेत हामीले पाएका छौं। चोलेन्द्र शमशेरको आगमन अदालतमा जति दिन हुन्छ त्यति दिनसम्म नै न्यायपालिकाको आस्था तल जाँदै गर्छ। न्यायपालिकाको आस्था कायम राख्नका लागि, सेवाग्राहीहरुलाई न्याय किनबेच गर्नु नपर्ने सर्वसुलभ, निष्पक्ष न्याय, स्वच्छ न्याय दिलाउनको लागि हामी बार एसोसिएसन वाचडगको रुपमा रहेका छौं। उहाँले चाहे अनुसारको बर्हिगमन गराउने एउटा अर्को बाटो छ संसद्। त्यहाँ छलफल हुने नै छ, छिट्टै छलफल हुन्छ। त्यहाँबाट एउटा निष्कर्ष निस्कन्छ।’
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउञ्जेलसम्म बार एसोसिएसनले गरेको विरोधको कार्यक्रम जारी रहने पनि बताए।
प्रतिक्रिया दिनुहोस्