कांग्रेस प्रदेश २ अधिवेशन: देउवा र निधि पक्षबीच कुटाकुट
काठमाडौं, पुस ७ । नेपाली कांग्रेस प्रदेश २ मा जारी प्रदेश कार्य समितिको पहिलो अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको छ।
जनकपुरधामस्थित कांग्रेस प्रदेश २ को निर्वाचनस्थल गोपाल धर्मशालामा सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधि पक्षधरबीच कुटाकुट भएको हो।
प्रदेश २ मा नेताहरु दुईवटा प्यानल बनाएर मैदानमा उत्रिएका छन्। सभापति देउवा पक्षधरले रामकृष्ण यादवलाई अघि सारेका छन्। रामसरोज यादवले निधि तथा डा।शेखर कोइरालाको साथ पाएका थिए। यस्तोमा दुवै पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै मुक्का हानाहान भएको हो।
अधिवेशन जारी रहँदा निधि पक्षले बुधबार रातिसम्म मतदान सक्नुपर्ने अडान लिएको छ। उता देउवा पक्षले भने रातिको समयमा मतदान नगराउन अडान लिएको छ। यही विवादले उग्र रुप लिएपछि प्रदेश अधिवेशनमा सहभागी दुवै पक्षका प्रतिनिधिबीच कुटाकुट भएको छ।
रामसरोज प्रदेश २ कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् भने रामकृष्ण यादव भने पार्टीको रौतहट जिल्ला सभापति हुन् ।
दुई पक्षबीचको कुटाकुटका क्रममा अहिले अधिवेशनस्थल तनावग्रस्त भएको छ। प्रदेश २ को अधिवेशन आफ्नो पक्षमा पार्न देउवाले बालकृष्ण खाँणलाई पठाएका छन्। उता शेखर पक्षबाट गगन थापासहितका नेता पनि त्यहाँ पुगेका छन्।















प्रतिक्रिया दिनुहोस्