प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमविरुद्ध एपीएफको सानदार जित
काठमाडौं, पुस ७ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमविरुद्ध विभागिय टोली एपीएफले सानदार जित निकालेको छ। धनगढीमा जारी प्रतियोगितअन्तर्गत बुधबार भएको पहिलो खेलमा एपीएफले घरेलु टोली सुदूरपश्चिमलाई ८९ रनले हराएको हो।
लगातार दोस्रो जितसँगै एपीएफ सेमिफाइनल प्रवेश गरेको छ। सुदुरपश्चिमलाई सेमिफाईनल पुग्नका लागि प्रदेश नम्बर २ लाई हराउनु पर्नेछ। आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २८ रन बनायो। एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे।
सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दिपा जोरा र कविता जोशीले समान दुई/दुई विकेट लिए। १ सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो।
सुदूरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुवि पोदारले समान १०/१० रन बनाए। एपीएफका लागि करुणा भण्डारीले ४ विकेट लिइन्। सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १/१ विकेट लिइन्। खेलमा ४ विकेट लिएकी एपीएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भइन्।
प्रतिक्रिया दिनुहोस्