पोल्याण्डले गर्यो विश्व कपमा स्थान सुरक्षित

एजेन्सी – विश्वकप छनोट अन्र्तगत युरोपियन क्षेत्रको छनोटको समूह ‘ई’ को अन्तिम चरणको खेलमा विजयी हुँदै पोल्याण्डले विश्व कपमा सोझै स्थान बनाएको छ ।

समूह ‘ई’ को अन्तिम खेलमा पोल्याण्डले मोन्टेनेग्रोमाथि ४–२ को सहज जित निकाल्यो । पोल्याण्डको वार्सास्थित नेशनल स्टेडियममा आइतबार राति खेलिएको खेलमा घरेलु टोलीलाई जिताउन क्रिजिस्टफ माकज्यान्स्कीले २ रोवर्ट लेवान्डोस्कीले १ गोल गरे । अर्को एक गोल उपहार पाएको थियो । क्रिजिस्टफ माकज्यान्स्कीले १६ मिनेटभित्र दुई गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० को आरमादायी अग्रता लिएको थियो ।

तर, दोस्रो हाफको ६ मिनेटभित्र मोन्टेनेग्रोले लगातार दुई गोल गरेपछि खले ८५ औं मिनेटसम्म २–२ गोलको बराबरी अवस्थामा पुगेको थियो । ७८औं मिनेटमा मोन्टेनेग्रोका स्टेफल मुगोसाले पहिलो गोल गर्दा ८३ औं मिनेटमा जार्को टोमासेभिकले बराबरी गोल फर्काएका थिए । बराबरीको अवस्थामा पुगेपछि पोल्याण्डका रोवर्ट लेवान्डोस्कीले खेलको ८५ औं मिनेटमा गोल गर्दै खेलमा पुनः अग्रता दिलाए । ८७ औं मिनेटमा फिलिप स्टोकोभिकले आत्मघाती गोल गरेपछि पोल्याण्डले खेल ४–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । समूह चरणमा पोल्याण्डले १० खेलबाट २५ अंक जोड्यो ।

प्रतिक्रिया दिनुहोस्