कांग्रेस महाधिवेश : मतपरिणाम बुधबारसम्म आइसक्ने, अहिलेसम्म के–के को आयो परिणाम ?
काठमाडौं , पुस ६ । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ ।
यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।
अहिलेसम्म सभापतिसहित पदाधिकारी १३ जना,खुला केन्द्रीय सदस्य पुरुष ३५ जना,महिला खुला केन्द्रीय सदस्य ९ जना,पिछडिएको क्षेत्रबाट १जना,अपांङगता भएकाबाट १ जना, अल्पसंख्यकबाट १ जना र प्रदेश २ बाट पुरुष २ जना र महिला १ जना केन्द्रीय सदस्य गरी ६३ पदको नजिता सार्वजनिक भइसकेको छ । सभापतिमा पुनः शेरबहादुर देउवा नै दोहोरिनु भएको छ ।
कांग्रेस १४ औं महाधिवेशन निर्वाचन समितिका अनुसार भोलिसम्म सबै पदको मतगणना सकिनेछ । कांग्रेसमा पदाधिकारीसहित १३४ जना महाधिवेशनबाट निर्वाचनमार्फत चुनिने प्रावधान छ भने सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न सक्ने प्रावधान छ । अहिलेसम्म ६३ पदको नतिजा सार्वजनिक हुँदा अव ७१ पदको परिणामा आउन बाँकी छ ।
अब मत परिणाम सार्वजनिक हुन बाँकी केन्द्रीय सदस्यहरु यस प्रकार रहेका छन्–
प्रदेश २ बाहेक बाँकी प्रदेशबाट १ महिला र २ जना पुरुष गरी ३–३ जना,आदिवासी जनजातितर्फ ७ महिलासहित १५ जना, मुस्लिमतर्फ १ महिलासहित ३ जना,दलिततर्फ ४ महिलासहित ९ जना, , मधेशीतर्फ ४ महिलासहित ९ जना, खसआर्यतर्फ ६ महिलासहित १३ जना र थारुतर्फ २ महिलासहित ४ जना सदस्यको मतगणनाको परिणाम आउँन बाँकी छ । कांग्रेस सभापतिको मतगणना काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा भएको थियो । तर अरु बाँकी सबै पदको ललितपुरको सानेपा स्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा भएको हो ।
पदाधिकारीको मतगणना सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना शुरु गरिएको थियो । गत हप्ताको सोमबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । अहिलेसम्म मतगणना सम्मपन्न भएका पदहरुमा सभापति देउवा पक्षका उम्मेदवारहरुको वर्चस्व रहेको छ ।















प्रतिक्रिया दिनुहोस्