अध्यक्ष नेपालको टिप्पणी: संसद अवरोध गरेर एमालेले संविधान, अदालत र निर्वाचन आयोगको अपमान गर्यो

काठमाडौं,पुस ६ ।  नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेले संसद अवरोध गरेर संविधान, सर्वोच्च  अदालत र निर्वाचन आयोगको अपमान गरेको टिप्पणी गरेका छन्।

मंगलबार पोखरामा पार्टीको प्रदेशस्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म, संसदीय मूल्यमान्यता र नियमसम्मत काम गरेको बताए।

‘नेपालको संविधान, निर्वाचन आयोगको निर्णय र सर्वोच्चको आदेश विपरित एमालेले संसद अबरुद्ध गर्ने काम गरेको छ,’ उनले भने, ‘अझै ओली र उनका मान्छेहरुले संसदमा उभिएर संबैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन्। उनीहरु आफै संविधानको बर्खिलाप जान्छन्। निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन् अनि भन्छन्–संवैधानिक सर्वोच्चता कायम गर ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले सभामुखलाई एमालेसंग नडराउन समेत आग्रह गरेका छन्। ‘एमालेसंग डराउनु पर्दैन। यहीँबाट भन्न चाहन्छु। सभामुखज्यू तपाई दृढतापूर्वक उभिनुस्। हामी तपाईको साथमा छौं,’ उनले भने।

कांग्रेसको महाधिवेशनमा आफूसँग ओलीले मञ्च सेयर गरेको प्रसंग उल्लेख गर्दै नेपालले संसदमा आफ्नो उपस्थितिले गडबढी गर्न नपाएको रिस ओलीले फेर्ने गरेको टिप्पणी गरे। ‘मलाई देख्यो भने केपी ओली र उनको प्रवत्तिको सातो जान्छ। त्यही भएर संसदमा मेरो उपस्थिति अनिवार्य छ। नत्र माधव नेपाल भाग्यो भन्न बेर लाउँदैनन्। विभिन्न चलखेल गर्छन्,’ उनले भने, ‘उनको सातो गइरहन पर्छ। जनताको सातो जानु हुँदैन। ओली र उनका प्रवृत्तिको सातो गएर केही हुन्न।

यसैबीच यता एमालेको अवरोधकाबीच प्रतिनिधिसभाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ ।  मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्