साफ उपविजेता खेलाडीले पाए जनही ५ लाख (फोटोसहित )
काठमाडौं, पुस ६ । सरकारले साफको उपविजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई नगदसहित सम्मान गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले साफ उपविजेता टोलीलाई सम्मान गरेका हुन् ।
सरकारले साफ फुटबलको उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका सदस्यलाई नगदसहित सम्मान गरेको हो । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले साफको उपविजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गरेका हुन् ।
यसअघि सरकारले साफमा ऐतिहासिक नतिजा निकाल्न सफल राष्ट्रिय फुटबल टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो । पूर्व घोषणा अनुसार सरकारले खेलाडीलाई ५ लाख, तीन जना प्रशिक्षकलाई जनही ३ लाख र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरेको हो ।
पुरस्कार पाउने खेलाडीमा किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी रहेका छन् ।
त्यस्तै सुमन लामा, नवयुग श्रेष्ठ, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापाका साथै प्रशिक्षकमा अब्दुल्लाह अलमुताईरी, सहायक प्रशिक्षकमा किरण श्रेष्ठ, गोलकिपर प्रशिक्षकमा बिकाश मल्लले पनि पुरस्कार पाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले खेल र खेलाडीको बिकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले खेलाडीहरुको मनोवल उच्च राख्न सरकारले सदैव खेलाडीहरुको हितमा काम गर्ने समेत उल्लेख गरे ।
माननीय युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को अध्यक्षतामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले उपस्थित प्रमुख अतिथि लगायतका उपस्थित महानुभावहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रमको संचालन मन्त्रालयका सहसचिव विष्णुराज ढकालले गर्नु भएको थियो । कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फाको तर्फबाट कार्यक्रमका प्रमुख अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
माल्दिभ्स फुटबल संघको आयोजनामा माल्दिभ्सको मालेमाअक्टोबर १ देखि १६ २०२१,(तदनुसार मिति २०७८ असोज १५ देखि ३० गते) सम्म १३ औं संस्करणको साफ च्याम्पियनशिप सम्पन्न भएको थियो ।
माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल पहिलो पटक फाईनल प्रवेश गरेको थियो । उपाधि भिडन्तमा नेपाली टिम भारतसँग पराजित भएको थियो ।
खेलाडी : किरण चेम्जोङ, अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ, तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी, सुमन लामा, नवयुग श्रेष्ठ, सुरज ज्यु ठकुरी, नितिन थापा, बिशाल राई, सुनिल बल, आशिष लामा, सन्तोष तामाङ, आयुष घलान, विशाल श्रेष्ठ, मनिष डाँगी, कमल थापा ।
प्रशिक्षक : अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ, बिकाश मल्ल
फिजियो : अबिष्कार पुडासैनी
व्यवस्थापक: मधुशुदन उपाध्याय
प्रतिक्रिया दिनुहोस्