कैलाली घाँटी रेटेर हत्या प्रकरण : शंकास्पद एक पक्राउ, फोन रेकर्डका आधारमा अनुसन्धान गर्दै प्रहरी
काठमाडौं, पुस ४ । कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको छ।
घटनापछि लुकेर बसेका एकजनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
अनुसन्धान प्रभावित हुनसक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएको छ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी छिनालेर हत्या भएको हो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शरीर कपडाले रुखमा बाँधेको र घाँटी छिनालेर टाउको अलग पारिएको अवस्थामा शनिबार दिउँसो दासको शव फेला परेको थियो। रुखमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। प्रारम्भीक अनुसन्धानले हत्यामा चार÷पाँचजनाको संलग्नता देखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। शनिबार बिहान ३ देखि ५ बजेको बीचमा घटना भएको प्रहरीको अनुमान छ।
घटनापछि दुई जनाबीच फोन संवादको अडियो सार्वजनिक भएको छ। उक्त अडियोमा आफूलाई मनोज भनेर चिनाएका व्यक्तिले आफूले एकजनाको घाँटी छिनालेको खुलाएका छन्। फोनमा कुरा गर्ने अर्को व्यक्तिसँग उनले भनेका छन्, ‘एक/दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ, टाउको अलग छ, शरीर अलग छ।’ आफू रुपैडिया नाकामा रहेको र भारतको बैंग्लोर जान लागेको ती व्यक्तिले अडियोमा बताएका छन्।
फोन संवाद गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ। आफूलाई मनोज भनेर चिनाएर व्यक्ति मनोज भण्डारी रहेको उनी दासको छिमेकी रहेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए। दासकी श्रीमतीले फेसबुक म्यासेन्जरबाट एकजना छिमेकीबाट उक्त अडियो प्राप्त गरेकी थिइन्। शुक्रबार दिउँसोदेखि श्रीमान बेपत्ता हँुदा आत्तिएकी उनले छिमेकीसँग भएको हत्याको कुराकानीको फोन रेकर्ड पाएपछि उक्त अडियो लिएर अमरावती प्रहरी चौकी पुगेकी थिइन्। अडियोबारे अनुसन्धान थाल्न नपाउँदै प्रहरीले सामुदायिक वनभित्र लाश रहेको सूचना पाएको थियो।
उक्त अडियोमा आफूलाई मनोज भनेर परिचित गराएका व्यक्ति दासकै छिमेकी रहेको बताइएको छ। उनी अहिले फरार छन्। फोनमा संवाद गर्ने अर्को व्यक्ति र अडियो पठाउनेको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ। जंगलमा घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।














प्रतिक्रिया दिनुहोस्