कराँची विस्फोट अपडेट : मृत्यु हुनेको संख्या १५ पुग्यो
काठमाडौँ , ४ पुस । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । कराँचीको शेरशाह क्षेत्रस्थित एउटा व्यापारिक भवनमा शनिबार साँझ विस्फोट भएको थियो ।
विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुको समेत मृत्यु भएको छ । विस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।
विस्फोटमा घाइते भएकाहरुको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विस्फोटबारे अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । ग्यास चुहावट वा अन्य केही विस्फोटक पदार्थ पड्किएर भवन भत्किएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्