अब कांग्रेस सुधार्ने जिम्मा मेरो काँधमा आएको छ: शेखर कोइराला

काठमाडौं पुस २ ।   नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचन लड्दा ४० प्रतिशत मत पाएको उल्लेख गर्दै कोइरालाले प्रतिनिधिहरुले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति अविचलित रहने प्रण पनि गरेका छन् ।

डा। कोइरालाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मलाई प्राप्त मतले कांग्रेस सुधारको प्रकृयालाई अगाडि बढाउने थप जिम्मेवारी मेरो काँधमा आएको छ । मलाई प्रतिनिधि साथीहरुबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छु ।’

पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत आफूलाई प्राप्त भएको भन्दै कोइरालाले आफू र आफ्नो टिम पार्टीलाई परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृह हुने बताएका छन् ।

सभापति पदमा पराजित भए पनि प्रतिनिधिहरु र लोकतन्त्रवादीहरुको ‘मन’ जित्न आफू सफल भएको कोइरालाको भनाइ छ । उनले पार्टीमा यथास्थिति चाहनेहरुको आफूविरुद्ध अपवित्र गठजोड भए पनि राजनीतिक रुपमा लडाइँ जितेको कोइरालाले उल्लेख गरेका छन् ।

‘पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं, भरोसा र विश्वासको वृद्धि गराएका छौं,’ उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामीविरुद्ध भयो, तर पनि हामी लड्यौं र राजनीति जित्यौं ।’ साथै डा। शेखर कोइरालाले महाधिवेशनमा पार्टीभित्रका यथास्थितिवादी र परिवर्तनकारीबीच प्रतिस्पर्धा भएको टिप्पणी गरेका छन्। शुक्रबार विज्ञप्ति जारी गर्दै उनले पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड आफूहरूविरुद्ध भए पनि राजनीति जित्न सफल भएको प्रतिक्रिया दिएका हुन्।

उनले पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने अभियानमा लड्नका लागि आफूसँग राजनीतिक सिद्धान्त र ऊर्जावान युवाहरूको समूह रहेको बताएका छन्। कोइरालाले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामनासमेत दिएका छन्।

देउवाकै कार्यकालमा नेपाली कांग्रेसको गौरव पुनर्स्थापित हुनेछ भन्ने विश्वास लिएको बताउँदै उनले महाधिवेशनमा आफू पार्टी सभापतिमा पराजित भए पनि कांग्रेसप्रति आकर्षण, भरोसा र विश्वासको वृद्धि गराएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्