कांग्रेसमा उदाए गगन, भने- पाएको मतको न्याय गर्छु, को हुन् थापा ?
काठमाडौं, पुस १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेस युवा नेता गगन थापालाई महामन्त्री बनाएको छ ।उनी ३०२३ मत ल्याएर कांग्रेसको महामन्त्रीमा विजयी भएका हुन् । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा गर्दै आएका थापालाई अब पार्टीका आफ्नो मुद्दा स्थापित गर्न सहज हुनेछ । उनी खास गरी युवाहरुका माझ लोप्रिय छन् ।
उनले युवाका मुद्धालाई मात्र होइन सबैका मुद्धा अघि बढाउँछन भन्ने आश कांग्रेस जनमा छ । कांग्रेसको काठमाडौमा भएको १४ औं महाधिवेशनले गगनलाई महामन्त्रीमा चयन गरेको हो । यस अघि कांग्रेसको केन्द्रीय सदस्यमा मात्रै सिमित रहेका थापा अब निर्वाचित महामन्त्री बनेर कांग्रेस हाक्ने ठाउँमा पुगेका छन् ।
नेताहरुको कार्यशैलीका कारण राजनीतिप्रति वितृष्णा बढिरहेका बेला गगनले कांग्रेसका नेता कार्यकर्तालाई मात्रै होइन देशका सबै युवा पंक्तिलाइ पनि आशाको दियो जगाउने अपेक्षा गरिएको छ । थापा सभापतिका उम्मेदवार डा। शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । कांग्रेस सभापतिमा दोस्रो चरणको मतदानमा कोइराला शेरबहादुर देउवासंग पराजित भएका थिए ।
विगतमा स्वास्थ्यमन्त्रीको रुपमा उनले खेलेको भूमिकाको पनि सबैले प्रशंशा गरेका थिए । गगन स्पष्ट र प्रखर वक्ताका रुपमा पनि चिनिन्छन् । संसदमा होस या कहि कतै बोल्दा उनी तर्कसहित प्रस्तुत हुन्छन् र निडर रुपमा आफ्ना भनाई राख्छन् । गगन २०७२ मा कांग्रेसको १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको तर्फबाट महामन्त्रीकै उम्मेदवार बनेका थिए । तर त्यतिबेला पराजित भएका थिए । अब भने उनी कांग्रेस हाक्ने र भोलि कांग्रेसलाई कस्तो बनाउने भन्ने जिम्मेवारीमा पुगेका छन् ।
को हुन् थापा ?
गगन २०३३ सालमा काठमाडौँमा जन्मेका हुन् । उनका पिताको नाम महेन्द्र कुमार थापा र आमाको नाम रामेश्वरी थापा हो । उनी २०४६ सालमा काठमाडौंमा कक्षा ९ मा पढ्दैगर्दा जनआन्दोलनमा लागेका थिए ।उनी विद्यार्थी राजनीतिमार्फत उदाएका नेता हुन् । २०५५ मा उनी त्रिचन्द्र क्याम्पसको स्वबियू सभापति बनेका थिए ।
त्यसअघि २०५१ मा सोही क्याम्पसमा स्वबियू सदस्य भएका थिए । बि।सं २०५९ साल देखि २०६१ सालसम्म गगन नेपाल विद्यार्थी संघ ९नेविसंघ० को महामन्त्री भएर काम गरे । उनी यो अवधिमा पटक–पटक जेल परिसकेका थिए । माघ १९,२०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि गगन त्यसको विरोधमा लागे उनलाई राजद्रोहको मुद्दा लगाइयो ।२०६२र६३ को जनआन्दोलन पछि गगन कांग्रेसको पार्टी राजनीतिमा सक्रिय बने २०७० मा उनी दोस्रो संविधान सभामा काठमाडौ क्षेत्र नम्बर ४ बाट निर्वाचित भए ।
२०७३ मा स्वास्थ्य मन्त्री बने । त्यसपछि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पनि सोहि निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रो सविधान सभामा गगन कृषि तथा जलस्रोत समितिको सभापति समेत बनेका थिए । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले कांग्रेसलाई अघि बढाउने जिम्मा पाएका छन् ।
थापा कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी महामन्त्रीमा निर्वाचित हुँदै गर्दा कांग्रेसमा रहेका पाका नेताहरुलाई पनि समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी छ ।
पाएको मतको न्याय गर्छु
नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापाले आफूले पाएको मतको न्याय गर्ने बताएका छन्। महामन्त्रीमा विजयी भएपछि सानेपामा कुरा गर्दै उनले इमानदारिता र परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्ने बताए।
उनले पार्टी सभापतिलाई सबैलाई समेटेर अघि बढ्न आग्रह गरे। सभापतिलाई रचनात्मक सहयोग गर्ने बताउँदै गल्ती गर्न लागे घचघच्याउने बताए। महामन्त्रीको काम खबरदारी गर्ने पनि भएको उनको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्