ओलीलाई प्रचण्डको चुनौती : पूर्वराजा ज्ञानेन्द्रसँग मैले पाँचबुँदे सहमति गरेको प्रमाणित गर्नूस्

काठमाडौं, पुस १ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनयुद्धकालमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँचबुँदे सहमति गरेको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्।

एमाले अध्यक्ष ओलीले युद्धकालमा माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति गरेका थिए भनेर सार्वजनिक कार्यक्रममा बोलेको भोलिपल्ट बिहीबार बिहान विज्ञप्ति जारी गरी प्रचण्डले उनलाई उक्त आरोप प्रमाणित गर्न अन्यथा जनतासामु माफी माग्न चुनौती दिएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँचबुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनीतिक चरित्र मात्र प्रदर्शन गरेका छन्’, प्रचण्डले वक्तव्यमा भनेका छन्, ‘म केपी ओलीलाई ‘पाँचबुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु।’

साथै प्रचण्डले ‘दलाल पुँजीपति वर्ग र प्रतिगमनको राजनीतिक प्रतिनिधिका रूपमा देखापरेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेको’ दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्