देउवालाई बधाइ दिँदै शेखर कोइरालाले भने – पार्टी पहिलेजस्तो बेथितिले चल्न दिदैनौँ

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका शेरबहादुर देउवालाई पार्टीमा गुटबन्दी नगर्न कोइराला समूहले सन्देश दिएको छ ।

देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले बुधबार महाधिवेशन प्रतिनिधिहरुलाई धन्यावाद दिन आयोजना गरेको कार्यक्रममा उक्त समुहले पार्टी एकतामा जोड दिएको हो ।

साथै सभापति देउवालाई ४ वर्षे कार्यकालका लागि शुभकामना पनि दिएको छ । त्यसै गरि नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अब पार्टी पहिलेजस्तो बेथितिले चल्न नदिने बताएका छन् ।

“शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चारवर्षे हो । चारवर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो । जसरी पहिलो कार्यकाल साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौँ ।”

साथै उनले आफू पराजित भएपनि यसलाई स्वाभाविक भएको पनि बताए ।

“निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविकरुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो भन्ने चिन्ता पनि छैन,” उनले भने, “अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नुहुनेछ । म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौँ । भागबण्डा र गुटबन्दीमा लाग्दैनौँ । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौँ ।”

कार्यक्रममा डा. कोइरालाले पहिलाको कार्यकालमा कांग्रेस विधिअनुसार चल्न नसकेको टिप्पणी गरे। उनले सभापतिको कार्यकाल ४ वर्षकोमात्र भएको भन्दै यो कार्यकालमा कांग्रेसम विकृति नआउने विश्वास व्यक्त गरे ।

उनले आफूहरुको विचार समूहले उठाएको कदम सफल भएको भन्दै त्यसका लागि निरन्तर लाग्ने बताए । उनले पार्टी एकतामा जोड दिँदै आगामी महाधिवेशनमा आफ्नो विचार समूहको जित हुने विश्वास व्यक्त गरे। कार्यक्रममा बोल्ने सबै नेताहरुको जोड पार्टी एकतामै रहेको थियो ।

त्यसैगरि महामन्त्रीको उम्मेदवार डा। मिनेन्द्र रिजाल, उपसभापतिका उम्मेदवारहरु चन्द्र भण्डारी र धनराज गुरुङ, सहमहामन्त्रीका उम्मेदवार कमल पन्त, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा। रामशरण महत र बलबहादुर केसीले कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्