अब देउवा हामी सबैको सभापति हो, सहकार्य र संघर्षको सम्बन्ध हुन्छ : गगन थापा

काठमााडैं, मंसिर २९ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगन थापाले अब शेरबहादुर देउवा आफूहरु सबैको सभापति भएको बताएका छन् ।

महाधिवेशन अघि अलग विचार समूहबाट आफूहरु प्रत्यासी रहेको र प्रतिस्पर्धा गरेको भए पनि चुनावपछि भने अब देउवा सिंगो पार्टीको सभापति भइसकेका कारण आफूहरु सबैको सभापति भएको उनको भनाइ रहेको छ ।उनले लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएकोमा खुशी प्रकट गर्दै आफूहरुले यही लोकतान्त्रिक अभ्यास खोजेको पनि प्रस्ट पारे ।

दुवै चरणमा भएको निर्वाचनमा आफूले देउवालाई भोट नदिएको जानकारी दिँदै गगनले भने, ‘तर अब देउवा हामी सबैको सभापति हो । पार्टीको हितमा काम गर्नुभयो भने हाम्रो सहकार्य उहाँसँग हुन्छ । उहाँ जहाँ चुक्नुहुन्छ, उहाँसँग हाम्रो संघर्ष हुन्छ ।’

थापाले कम्युनिष्ट पार्टीहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बुधबार बोल्दै नेता थापाले भने,’ हामी निर्वाचन निर्वाचन भन्छौं । अबको एक वर्षमा मंसिरभित्रमा चुनाव हुन्छ । त्यो निर्वाचनमा कांग्रेस कम्युनिष्ट पार्टीहरु मिलेनन् भने मात्रै चुनाव जित्छ । मधेशका पार्टी मिलेनन् भने मात्रै चुनाव जित्छ । ‘

कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले भर पर्न नहुने बताउँदै उनीहरुले जुनसुकै समयमा कांग्रेस विरुद्ध मोर्चाबन्दी गर्न सक्ने बताए ।

‘हिजो कांग्रेसकै सरकारमा सामेल भएका कम्युनिष्ट पार्टीहरु अर्को कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लडे । कसैले जिम्मेवारी लिन सक्छ कम्युनिष्ट पार्टीहरु मिल्दैनन् भनेर ? हिजो हामीसँग सरकारमै थिए । कसरी रातारात मोर्चाबन्दी गरे ?,’ नेता थापाले भने ।

उनले कांग्रेसलाई कम्युनिष्ट पार्टीहरु मिल्दा पनि जित्न सक्ने बनाउनका लागि नयाँ मतदाताहरु आकर्षित गर्नुपर्ने बताएका थिए ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सभापति पदका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा पाँच घण्टासम्म बसेर मतदातासँग भोट मागेको उनले सुनाए ।

आफू पनि शेखर कोइरालाको आडमा बसेर त्यो बेला मत मागिरहेको उनले बताए ।साथै उनले उनले नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भए पनि १४औं महाधिवेशनमा नेतृत्व बदल्ने प्रयास भए पनि नसकेको स्वीकार गरे।

प्रतिक्रिया दिनुहोस्