देउवालाई चन्द्र भण्डारीको आग्रह : गुटको मात्र होइन सिंगो पार्टीको नेता हुन सक्नुस्
काठमाडौं , मंसिर २९ । नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीले पार्टी सभापतिमा पुनर्निवाचित शेरबहादुर देउवालाई गुटको मात्र नभइ पार्टीको नेता बन्न आग्रह गरेका छन् ।
सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘सभापतिमा पुनर्निवाचित शेरबहादुर देउवाजीलाई म आग्रह गर्न चाहान्छु कि उहाँले गुटको नेतृत्व गर्ने होइन । सिँगो पार्टीको नेता बन्नका निम्ति आग्रह गर्दै सफलताको शुभकामना दिन चाहान्छु ।’
भण्डारीले महाधिवेशनमा ‘मनि र मशल’ प्रयोग नभएको भए शेखर कोइराला सभापतिमा विजयी हुने दावीसमेत गरे । १४औँ महाधिवेशनमा आफूहरुको विचारको जित भएको पनि उनले बताउँदै शेखर कोइरालाको नेतृत्वमा आजैदेखि १५औँ महाधिवेशनका लागि अघि बढ्ने पनि उनले बताए ।
महाधिवेशनमा आफूहरुको विचारको जित भएको र आफूहरुको दृष्टिकोणहरु विलय नहुने उनको भनाइ थियो । त्यसैगरि भण्डारीले सत्ता र शक्तिका अघि जस्ता खम्बा पनि ढल्दारहेछन् भन्ने पुष्टि भएको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“सत्ता र शक्तिका अघि जस्ता खम्बा पनि ढल्दारहेछन्,” उनले भने, “पैसाले धेरै असर गर्दो रहेछ । हाम्रा पनि केही कमीकमजोरी भए होलान् । १५ औँ महाधिवेशनको नेतृत्व यही हलभित्रैबाट हुनेछ ।”















प्रतिक्रिया दिनुहोस्