प्रचण्डले चन्दा नपाएर होला सेयरबजार ध्वस्त बनाउन अभिव्यक्ति दिएको : अध्यक्ष ओली
काठमाडौं, मंसिर २९ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयरबजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै सेयरवालाले चन्दा नदिएपछि उनीहरूलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको गम्भीर आरोप लगाए ।
शेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकै होस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरू लगातार लागि रहँदा पनि कसैले विरोधसमेत नगरेको उनले बताए ।
‘पूँजीवाद विकसित रूप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयरबजार हुन्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोक दिए । दुई दिनमा शेयर बजार धरासायी । त्यसले जनताको जीवनमा कति असर हुन्छ, शेयर लगानीकर्ताको अवस्था कस्तो हुन्छ ? तिनीहरूको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन । अर्थतन्त्रको केही पनि मतलव छैन । कुन सेयरवालाले चन्दा दिएनन् होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए’ उनले भने ।
उनले आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडक तात्ने बताए । उनले प्रचण्डको यस्तो अभिव्यक्तिबाट सबैजना चुप बसेको भन्दै असन्तुष्टि जनाए ।
‘यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तात्थे, माइतीघरले पुग्दैन थियो । सञ्चार माध्याममा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता बिगार्ने, उता बिगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने । यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन’ उनले भने ।
अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।














प्रतिक्रिया दिनुहोस्