संसदीय दल बैठकमा ओलीको आक्रोश, सत्तागठबन्धन अनिष्टकारी

काठमाडौं , २९ मंसिर-  संसद् बैठक बस्नुअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवं दलका नेता केपी ओलीले पाँचदलीय गठबन्धन अनिष्टकारी भएको आरोप लगाएका थिए । ‘अहिलेको पाँचदलीय गठबन्धन देशका लागि विनाशकारी र अनिष्टकारी हो । यस गठबन्धनले संसद्लाई संसद् रहन दिएन,’ ओलीले भने ।

ओलीले सभामुख सापकोटाको पनि आलोचना गरे । ‘मिडियाबाट असंवैधानिक काम भयो भनेर सभामुख बोल्छन् । मिडियाबाट धम्काउँछन् । गठबन्धनको एउटा नेता भन्छ, केपी ओलीलाई संसदबाट निकालिदिनुपर्छ । यिनीहरूको गुरिल्लापन्थी गएकै छैन,’ ओलीले भने, ‘सभामुख एक्सन लिन्छु भन्छन् । एक्सन लिएका मुद्दा पनि छन् । सभामुख बन्नै नपाउने मान्छे हुन् । अनेक मुद्दा छन् ।’

सापकोटा तत्कालीन नेकपामा ओलीको समेत समर्थनमा सभामुख भएका हुन् । ओलीले सर्वोच्च अदालतमा भएको आन्दोलनको पनि आलोचना गरेका थिए । ‘सर्वोच्च अदालतअगाडि नाराबाजी, कुटाकुट भएको छ । तमासा गर्न थाल्नुभयो, सर्वोच्चको प्रांगणमा । प्रधानान्यायाधीश पछाडिको ढोकाबाट छिरे । अगाडिबाट वकिलले रोके । के हो यस्तो ? न्यायाधीशहरूलाई ढोकाबाट पस्न नदिएर रोक्ने, वकिलहरूको काम कर्तव्य र अधिकारभित्र पर्छ ? के भइरहेको छ देशमा ?’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्