शेरबहादुर देउवा कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित, को हुन् देउवा ?
काठमाडौं , २९ मंसिर- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति प्रत्यासी डा. शेखर कोइरालालाई हराउँदै देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७२४ मत ल्याएर कांग्रेस सभापतिमा निर्वाचित भएका हुन्। कोइरालाले १८१७ मत प्राप्त गरे । देउवाले निकटतम् प्रतिद्वन्द्वी डा. कोइरालालाई ९०७ मतले हराएका हुन् ।
पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४५७४ मत खसेको थियो। त्यसमध्ये ३३ मत बदर भएको थियो।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन : मतदान भएको हो । पहिलो चरणमा कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।
दोस्रो चरणमा देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएका निधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिएका छन् ।
दोस्रो चरणमा दिउँसो साढे ३ बजेपछि ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।
देउवाको यात्रा
वि.स.२००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राम गाविस वडा नम्बर ५ मा जन्मिएका देउवाले नेविसंघबाट राजनीतिमा सुरु गरे । २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएपछि उनी सक्रिय भए ।
देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए । पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक(पटक जेल परेका थिए ।
२०४६ मा नेपाली कांग्रेसको नेतृत्वमा देशमा पहिलो जनाअन्दोलन भइरहेको बेला लन्डन स्कूल अफ इकोनोमिक्समा पढिरहेका थिए । २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट राजनीतिका लागि काठमाडौं फर्किए ।
२०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री भए । २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेतामा निर्वाचित भए । २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बने ।
सर्वोच्च अदालतले २०५२ भदौ १२ गते मनमोहन अधिकारी नेतृत्व सरकारले सिफारशस गरेको संसद विघटन खारेज गरिदियो । २०५२ साल भदौ २७ गते ५२ जनाको जम्बो मन्त्रिपरिषद् सहित उनी प्रधानमन्त्री भएका थिए ।
झन्डै १८ प्रधानमन्त्री भएका देउवाले कार्यकालमा सरकार टिकाउन सांसद किनबेच गर्ने, होटलमा थुन्ने, मन्त्रीलाई बैंकक पठाउने काम गरेको भन्दै आलोचना भएको थियो । उनको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, प्राडो काण्ड, रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिएको भनेर आलोचना गरिन्छ ।
२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो ।
अहिले उनी उनै माओवादी समेतको सहयोगमा प्रधानमन्त्री छन् ।
२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरेका थिए ।
फेरि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा बनाए । तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाए ।
नेपालमा गणतन्त्र स्थापनापछि देउवा २०७४ सालमा पुन चौथो पटक प्रधानमन्त्री बने । देउवा २९ असार २०७८मा सर्वोेच्च अदालतको परमादेशपछि पाँचौंपटक प्रधानमन्त्री नियुक्त भए ।
पार्टी राजनीति
०५७ पोखरामा भएको दसौं महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे । तर पराजित भए ।
प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति भए ।
२०६२–६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको पार्टी नेपाली कांग्रेसमा एकीकृत भएको थियो । । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा थिए ।
१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलो पटक पार्टी सभापति भएका देउवा दोस्रो पटक डा.शेखर कोइरालालाई पराजित गर्दै सभापति पदमा दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । २०७२ फागुनमा भएको महाधिवेशनमा देउवाले १८ सय २२ मत पाएका थिए भने पौडेलले १२ सय ९६ मत ल्याएका थिए ।















प्रतिक्रिया दिनुहोस्