एमाले सांसदको नाराबाजी चलिरहँदा संसदमा ६ अध्यादेश पेस, अब अर्को बैठक ६ पुसमा

काठमाडौं, २८ मंसिर  । सरकारले संसदमा विभिन्न ६ वटा अध्यादेश संसद् बैठकमा पेस गरेको छ ।

मंगलबारबाट सुरु भएको १०औँ अधिवेशनको पहिलो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरेका हुन् ।

मन्त्री बडूले अध्यादेश पेस गरिरहँदा एमाले सांसदको नाराबाजी चलिरहेको थियो । आफ्नाे पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए । मंगलबारबाट सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा पनि उनीहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच प्रतिनिधिसभाको बैठक ६ पुससम्मका लागि स्थगित गरिएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् ।

मंगलबारको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेर अवरोध सृजना गरेका थिए ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्