दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि स्वीकार छ: शेखर कोइराला

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणबाट नेतृत्व चयन हुन नसकेपछि अब दोस्रो चरणको मतदान केहिबेरमा सुरु हुने भएको छ ।

पहिलो चरणका सभापतिका उम्मेदावर शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचनमा जाने निश्चित भएको हो । यसबैबीच दोस्रो चरणको मतदानमा सभापतिका उम्मेदावर शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि निधि, सिंह र गुरुङले शेरबहादुर देउवालाई समर्थन गरेपछि शेखर कोइरालाले भने प्रतिस्पर्धामा जाने निर्णय गरेका हुन् ।निर्वाचनमा जाने घोषणा गर्ने क्रममा सभापतिका उम्मेदवार कोइरालाले दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि आफुलाई स्वीकार हुने बताएका छन् ।

महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

उनले आफूले नेपाली कांग्रेसको सभापतिमा विजयी भए कांग्रेसको समग्र जीवनमा परिवर्तन ल्याउने योजना बनाएको पनि सुनाएका थिए । आफूले सुरू गरेको नेपाली कांग्रेस रूपान्तरण र पुनर्जागरण योजनालाई निष्कर्षमा पुर्‍याउने घोषण पनि कोइरालाले गरे ।

 

प्रतिक्रिया दिनुहोस्