विवेकशील साझा पार्टीले भन्यो– पुँजी बजारबारे प्रचण्डको अभिव्यक्ति अल्पज्ञानको उपज र खेदजनक
काठमाडौं, मंसिर २७ । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सेयरबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको प्रतिक्रिया दिएको छ।
उक्त पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्तिमार्फत अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन्।
‘विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै धितोपत्र बोर्ड साम्राज्यवादको विकसित रूपु भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ’, पार्टीले विज्ञप्तिमा भनेको छ।
पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको उक्त पार्टीको भनाइ छ।
‘आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी सेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो’, विज्ञप्तिमा भनिएको छ।
पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्ने जनाउँदै पार्टीले बजार दुर्घटनामा पर्यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्ने र अर्थतन्त्र नै दुश्चक्रमा फस्न जाने जनाएको छ।उक्त भनाइ सच्याउन पनि प्रचण्डलाई पार्टीले सुझाव दिएको छ।
पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेकोले धितोपत्र बोर्डको अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न माग पनि गरिएको छ।















प्रतिक्रिया दिनुहोस्