प्रचण्ड र नेपाल कम्युनिष्ट आन्दोलन कमजोर पार्ने मिसनमा लागे : शंकर पोखरेल

काठमाडौं, मंसिर २७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन् ।

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।  उनले नेताद्वय दाहाल र नेपाल पुँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको उल्लेख गरे ।

नेता पोखरेलले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत लगाए । दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौतीको रूपमा रहेको उनको भनाइ रहेको छ ।

महासचिव पोखरेलले एमालेलाई तिनै तहको निर्वाचनमा बहुमतप्राप्त पार्टीको रूपमा स्थापित गर्नु जरुरी रहेको बताए । एमालेलाई भविष्यमा पनि गठबन्धनद्वारा नेतृत्वभन्दा बाहिर राख्ने षड्यन्त्र भइरहेको भन्दै उनले सो षड्यन्त्रलाई चिर्नका लागि जनताको बलियो समर्थनको आवश्यकता रहेकोमा जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्