रामचन्द्र पौडेलले मतदानमा भाग नलिने
काठमाडौं, मंसिर २७ । संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने योजना सफल नभएपछि सबै तहका प्रतिस्पर्धाबाट बाहिरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने भएका छन् । ‘उहाँ (पौडेल) मतदानका लागि जानुहुन्न । नजाने निर्णय गरिसक्नुभएको छ,’ उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नयाँ पत्रिकासँग भने । पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।
यसअघि आफूलाई सहयोग गर्न आग्रह गर्दै पौडेलनिवास पुगेका सभापतिका उम्मेदवार शेरबहादुर देउवासँगको भेटमा पनि पौडेलले तटस्थ बस्ने बताएका थिए । शनिबार साँझको भेटमा देउवाले आफूलाई सघाउन आग्रह गरेका थिए । तर, पौडेलले निर्वाचनमा आफूकुनै पनि पक्षमा नरेहेको बताएका थिए । ‘तपाईंको खाँचो राष्ट्रलाई छ । महाधिवेशनको समयमा पनि तपाईं चुप बस्न मिल्दैन,’ भेटमा देउवाले राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो, ‘यो महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’
तर, पौडेलले महाधिवेशनका क्रममा भएका कतिपय गतिविधिले आफूलाई खिन्न बनाएको बताएका थिए । ‘म तपाईंलाई सहयोग गर्न सक्छु भन्ने अवस्थामा छैन, निर्वाचनका क्रममा जति पनि गतिविधि भए त्यसमा म सन्तुष्ट हुन सकेको छैन,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘साथीहरूले आफ्नै विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ ।’ तत्पश्चात् देउवाले आफ्नो स्वास्थ्यको ख्याल राख्न भन्दै बाहिरिएका थिए ।















प्रतिक्रिया दिनुहोस्