काँग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता लिने समय एक घण्टा थपियो

काठमाडौँ , २६ मंसिर । नेपाली काँग्रेसको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी फिर्ता लिने समय थप गरिएको छ। निर्वाचन समितिले आइतबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय तय गरेकामा एक घण्टा थप गरेर १२ बजेसम्म पुर्याइएको हो ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको थियो । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।
दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् । १२ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्