देशभर चिसो बढ्यो, सतर्क रहन आग्रह, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं , मंसिर २६ । पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टाको तापक्रम न्यूनतम ५।४ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । ‘यस्तो अवस्थामा बिहान र राति घरबाहिर ननिस्कने र निस्कनै परे न्यानो लुगा लगाउनुपर्छ,’ उनले भने ।

जुम्लाको तापक्रम माइनस ४.७ डिग्री मापन भएको छ । त्यहाँ अधिकतम तापक्रम १५.९ डिग्री रहेको छ । तराईमा पनि चिसो बढेको छ । तराईका जिल्लामा हुस्सु लाग्न थालेको हो । धेरै गर्मी हुनेमध्येको नेपालगन्जमा न्यूनतम तापक्रम १०.३ डिग्रीमा झरेको छ भने अधिकतम तापक्रम २४ डिग्री रहेको छ । विराटनगरको न्यूनतम तापक्रम ११.५ र अधिकतम २५.३ मापन भएको छ ।

‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ,ु महाशाखाले भनेको छ । आइतबार बिहान पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

यता हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्