रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने, प्रकाशमान र शेखर टिम बनाउँदै
काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।
संस्थापन पक्ष इतरमा साझा उम्मेवार छनोटका लागि पहल गरेका उनले पहिले आफ्नै नाममा सहमतिका लागि प्रयास गरेका थिए । पछि सहमति हुने भएमा आफू उम्मेदवार नहुने पनि बताएका थिए ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराउने तयारी गरेपछि पौडेल पछि हटेका उनका निकट सहयोगीले जानकारी दिएका छन् । संस्थापन इतर पक्षबाटै शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् ।
अहिले संस्थापनइतर समूहबाट उमेदवारी दिने अन्तिम तयारीमा रहेका प्रकाशमान सिंह र शेखर कोइराला टिम बनाउन लागिपरेका छन् । शेखर कोइरालाले गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्री उमेदवार बनाएर अघि बढाउने प्रयास थालेका छन् । तर शर्मालाई सिंहले पनि महामन्त्रीमा उम्मेदवारी दिएर आफ्नो प्यानलमा रहन आग्रह गरेको स्रोतले जानकारी दिएको छ । दुवै पक्षसँग शर्माले केही समय पर्खिन आग्रह गरेका छन् ।
शर्माले आफू सभापति देउवाको टिममा नपरेको स्वीकार गर्दै अर्को कुन टिममा रहने भन्नेबारेमा निणर्य नलिएको बताएका छन् । ‘शेरबहादुर दाइको टिममा परिन, महामन्त्रीमा लड्छु कुन टिम भन्ने फाइनल भएको छैन’, शर्माले भने ।
यता पौडेलको समर्थन कसलाई हुने भन्नेबारेमा अहिलेसम्म खुलेको छैन । नेता कोइरालाले पौडेल सर्वसम्मत नहुने अवस्थामा आफूले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।















प्रतिक्रिया दिनुहोस्