कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार छ : ओली

काठमाडौँ, मंसिर २४- नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए । देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।

ओलीले नेपाली कांग्रेस आन्दोलन र परिवर्तनको इतिहास बोकेको पार्टी भएको बताएका छन् । उनले यो पार्टीकै नेतृत्वमा देशमा धेरै क्रान्ति भएको उल्लेख गर्दै आगामी दिनमा अझै फैलिने र विस्तार होस् भन्ने शुभकामना दिए ।

ओलीले आफू कसैप्रति आलोचना नगर्ने बताउँदै देशमा धेरै परिवर्तन भएको उल्लेख गरे । ओलीले देश अन्धकारमै नरहेको उल्लेख गरे । कांग्रेस र एमालेको नेतृत्वले नै देशलाई सही दिशामा अघि बढाएको बताए ।ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिड्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन् । उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

 

प्रतिक्रिया दिनुहोस्