काँग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदै, यस्तो छ तालिका
काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे गर्ने छन् ।
यउसको लागि सम्पूर्ण तयारी पूरा भएको छ । उद्घाटनका लागि महाधिवेशन उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जना बढी क्षमताको मञ्च तयार गरिएको छ । उद्घाटन सत्र हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिपोर्टिङ गर्न मञ्चनजिकै ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने छुट्टै स्टेज बनाइएको छ । महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । तर कोभिड जोखिमलाई देखाउँदै कांग्रेसले महाधिवेशनमा जनप्रदर्शन नगर्ने भएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार उद्घाटन सत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत विभिन्न पार्टीका शिर्ष नेताहरु सहभागी हुने जनाएको छ ।
त्यस्तै भारतबाट भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधि उपस्थित हुँदैछन् । महाधिवेशनमा सहभागी हुन भाजपा र कांग्रेस आईका चार नेता बिहीबार साँझ काठमाडौं आइसकेका छन् । महाधिवेशनका लागि वर्तमान केन्द्रीय समितिको बिहीबार बसेको अन्तिम बैठकले ३ वटा प्रस्ताव पारित गरेको छ । शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले १ सभापति, २ उपसभापति,२ महामन्त्री र ८ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।
उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म हुनेछ । मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म दाबी विरोधबारे निर्णय हुनेछ । उम्मेदवारको पहिलो नामावली मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन हुनेछ । मंसिर २६ गते बिहान ११ बजेसम्मममा मनोनयन पत्र फिर्ता लिइसक्नुपर्नेछ । उम्मेदवारको अन्तिम नामावली मंसिर २६ गते मध्यान्ह सवा १२ बजे प्रकाशन हुनेछ । मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछ । सहमती भएमा सोहि तालिका अनुसार महाधिवेशन कार्यक्रम सम्पन हुने छ । सहमती वा केहि अड्चन आएमा सो तालिको हेरफेर हुनेछ ।















प्रतिक्रिया दिनुहोस्