नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा पुन : पुबुदुको सम्भावना
काठमाडौँ , २३ मंसिर । नेपाली क्रिकेट टीमको मुख्य प्रशिक्षकमा फेरि पुबुदु दसानायके नियुक्त हुने सम्भावना देखिएको छ ।
गत सेप्टेम्बरमा कार्यकाल सकिनुअघि नै मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि नेपाल क्रिकेट संघले नयाँ प्रशिक्षक नियुक्ति अघि बढाएको थियो । जसमा ६० जनाले आवेदन दिएकामा क्यानले १५ जनालाई सर्टलिस्टमा राखेको र तीमध्ये ५ जनाको अन्तर्वार्ता लिइसकेको छ ।
क्यान स्रोतका अनुसार भारतीय प्रशिक्षक मोन्टी देसाई र पुबुदु नेपालको रोजाइमा सबैभन्दा अघि छन् । दुईमध्ये पनि दासानायकेलाई नै पुन : नेपालको मुख्य प्रशिक्षक बन्ने सम्भावना उच्च रहेको क्यान स्रोतले जनाएको छ । ‘पुबुदु दासानायके प्रशिक्षक बन्ने सम्भावना उच्च छ । तर अझै अन्तिम निर्णय भने भएको छैन । धेरै कामहरु पूरा गर्नुपर्नेछ’ स्रोतले भन्यो ।
पुबुदुले यसअघि सन् २०११ देखि २०१५ सम्म नेपालको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । यसअघि राष्ट्रिय टिमको ब्याटिङ कन्सलट्यान्ट भएर काम गरेका मोन्टी देसाई पनि नेपालको रोजाईमा छन् । ‘मोन्टीको पनि सम्भावना छ । तर प्रशिक्षक मात्र बनाएर भएन धेरै विषयहरु जोडिएका हुन्छ’ स्रोतले भन्यो ।
मोन्टी देसाईको पारिश्रमिक धेरै रहेको र उनले आगामी सिजन इन्डियन प्रिमियर लिगमा काम गर्ने सम्भावना रहेकाले नेपाल आउने सम्भावना कम छ ।
दासानायकेले यसअघि पनि नेपाली टिमसंग काम गरिसकेकाले पनि नेपाली क्रिकेटबारे उनी जानकार छन् । यस्तै पारिश्रमिकमा पनि दासानायके सहज रहेको क्यानको बुझाइ छ । यसअघि क्यानले डेभ वाटमोरले ११ हजार डलरमा अनुबन्ध गरेको थियो । दासानायकेको पारिश्रमिक करिब ७–८ हजार अमेरिकी डलर रहने स्रोतले जनाएको छ ।
दासानायके प्रशिक्षक रहेकै बेला नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । उनकै प्रशिक्षणमा क्यानडाले २०११ मा विश्वकप खेलेको थियो ।
नेपालले पहिलो पटक विश्वकप खेलेपछि क्यान र खेलाडीको आन्तरिक कलहका कारण दासानायके नेपाल छाडेर गएका थिए । त्यसपछि उनले अमेरिकाको प्रशिक्षकको रुपमा पनि काम गरे । त्यसयता भने उनले कुनै राष्ट्रिय टिम हेरेका छैनन् । पछिल्लो पटक उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक बनेर नेपाल आएका थिए ।
यसअघि वाटमोर प्रशिक्षक बन्दा पनि दासानायके नेपालको सम्भावित प्रशिक्षकको अन्तिम सूचीमा थिए ।
प्रतिक्रिया दिनुहोस्