नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री
काठमाडौँ , २२ मंसिर । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन् ।
चौधौं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा उनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औंल्याइन् ।
समाज र सिंगो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् ।
निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन् । निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको उनको भनाइ छ । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले बताइन् ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उनले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासंघ आशावादी रहेको समेत बताए ।















प्रतिक्रिया दिनुहोस्