विवाह पञ्चमीको पाँचौ दिन आज मटकोर हुँदै
काठमाडौँ , २१ मंसिर । सात दिवसीय विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पाँचौं दिन अर्थात शुभ विवाहको अघिल्लोदिन मटकोर विधि आज हुँदैछ छ।
सोमबार तिलकोत्सव अर्थात सम्धी मिलन सम्पन्न भएको छ । मंगलबार दिउँसो जनकपुरधामस्थित गंगासागर सरोवरमा विधिवत रुपमा मटकोर कार्यक्रम गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।
उहाँले जानकी मन्दिरबाट झाँकीसहित आएका साधु सन्त र श्रद्धालुले गंगासागरको किनारमा गएर मटकोर विधि वैदिक परम्परा अनुसार गर्ने चलन रहेको बताउनुभयो । मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गर्ने गरिन्छ । परम्परा अनुसार हुने विवाहको सबै विधि सीता राम विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको महन्थ दास जानकारी दिनु भयो ।
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान सीता र रामको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै जनकपुरधाममा विवाहपञ्चमी महोत्वस मनाउने गरिएको बताउँदै जानकी मन्दिरका महन्थ दासले मर्यादा पुरुषोत्तम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिएको हुन्छ, भन्नुभयो ।
एक हप्तासम्म विधिवत चल्ने विवाह पञ्चमी महोत्सवमा सम्पूर्ण विधिहरु त्रेता युगमा सीता राम विवाहको सम्झनामा मनाइने विवाह पञ्चमी महोत्सवमा गरिने चलन रहिआएको जानकी मन्दिरका महन्थले बताउनुभयो । सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवमा त्रेता युगमा सीता रामको विवाहमा गरिएको विधि अनुसार प्रथम दिन नगर दर्शनमा राम लक्ष्मणलाई नगर दर्शन स्वरुप जानकी मन्दिर प्राङ्गणमा रातो कार्पेट ओछ्याई फूलवर्षासहित नगर परिक्रमा गरिएको थियो ।
त्यसैगरी, देस्रो दिन फूलबारी लिलामा जानकी मन्दिर नजिकमा रहेको विवाह मण्डपको प्राङ्गणमा अवस्थित फूलबारी गई फूल टिपेर विधिवत सम्पन्न भएको थियो । विवाह पञ्चमीको तेस्रो दिन धनुष यज्ञ अर्थात मिथिलामा धनुष तोडी पनि भनिन्छ । रामले धनुष तोडेपछि सीतासँग स्वयम्बर भएको किम्दन्ती भनाइ रहँदै आएको सर्वविदितै छ ।
त्यस्तै, चौथो दिन सोमबार तिलकोत्सवमा २५१ जना पाहुर (कोसेली)सहित जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिरे पुग्नुभएको थियो । राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबीच सम्धी मिलन गरिएको थियो ।
सप्ताहव्यापी विवाह पञ्चमीको पाँचौ दिन गंगासागर पोखरीमा मटकोर गरिन्छ भने त्यसको अर्को दिन शुभ विवाहका दिन जानकी मन्दिर प्राङ्गणमा धुमधामका साथ विधिवत सीता रामको विवाह गरिन्छ । सप्ताहव्यापी चल्ने विवाह पञ्चमीको सातौं दिन बिहीबार रामकलेवा विधि गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेगर्छ ।















प्रतिक्रिया दिनुहोस्