एमसीसी नलिने हो भने प्रष्ट भने हुन्छ : श्रीधर खत्री

काठमाडौँ , २० मंसिर । अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत श्रीधर खत्रीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई इन्डो प्यासिफिकसँग जोड्नु गलत भएको बताएका छन् ।

यसमा नेपाल र अमेरिका दुबै तर्फबाट भ्रम फैलाइएको समेत उनले बताए । सोमबार संसदीय सुनुवाइ समितिको सुनुवाइका क्रममा प्रस्तावित राजदूत खत्रीले भने, ‘इन्डो प्यासिफिकसँग जोड्ने धारणा केही यताबाट गलत हो र केही उताबाट पनि हो ।’

एमसीसी विकासका लागि आएको अनुदान भएको र संसदबाट पास हुनुपर्छ भनेर नेपालकै कानुन मन्त्रालयले भनेको खत्रीले स्मरण गरे । अमेरिकी सहायकमन्त्रीले पनि एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत पर्छ भनेकाले भ्रम फैलिएको उनले बताए ।

एमसीसी देशभित्रको विवादमा अल्झिएको भन्दै उनले भने, ‘लिने हो भने प्रष्ट भने हुन्छ । नलिने हो भने पनि प्रष्ट भने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्