देउवाको गृह प्रदेशमा पौडेल समूहले मिश्रलाई बनायो सभापतिको उम्मेदवार

काठमाडौँ , १७ मंसिर । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सुदूरपश्चिम प्रदेशमा पदाधिकारीको उम्मेदवार खडा गरेको छ । ​

धनगढीको राष्ट्रिय बैंक गेस्टहाउसमा भएको सुदूरपश्चिमका पौडेल पक्षीय नेताहरुको बैठकले सभापतिदेखि महामन्त्रीसम्मका पदाधिकारीका उम्मेदवार तय गरेको हो । सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गुरुङ (कञ्चनपुर), मान बहादुर रावल (बाजुरा), महामन्त्रीमा प्रताप गुर्दामी (बझाङ) र बालबहादुर कुँवर (अछाम)लाई उम्मेदवार बन्ने भएका छन् ।

तर सहमहामन्त्रीका उम्मेदवार भने तय गर्न बाँकी छ । सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा पौडेल पक्षले उनीहरुलाई मैदानमा उतारेको हो । देउवा पक्षसँग भागबन्डामा कुरा नमिलेपछि पौडेल समूहले उम्मेदवार खडा गरेको हो ।

देउवा समूहले पौडेल समूहलाई ३० प्रतिशत भन्दा बढी दिन नसकिने बताएपछि पौडेल समूहले उम्मेदवारी घोषणा गरेको हो । यता देउवा देउवा पक्षमा सभापतिका आकांक्षी धेरै भएपछि उम्मेदवार छनोटमा सकस परेको छ । आज विहानैबाट देउवा पक्षका नेताहरू पनि आन्तरिक छलफलमा छन् ।

देउवा समूहले अहिलेसम्म पदाधिकारीका उम्मेदवार तय गर्न सकेको छैन । आज दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयनको समय तय गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्