विदेशिने श्रमिकलाई छुट्टै विश्राम कक्ष, विमानस्थल गेटसम्म निःशुल्क बस व्यवस्थापन गरिदैँ

काठमाडौँ , १५ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र छुट्टै विश्राम कक्ष सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले विमानस्थलको श्रम इजाजत जाँच कक्षमा प्रवेश गर्नुअघि नै श्रमिकहरू बस्न मिल्ने गरी बनाइएको विश्राम कक्षको बुधबार उद्घाटन गरिएको छ ।

सो विश्राम कक्षमा मोबाइल चार्जिङ प्वाइन्ट, वाईफाई, कुर्सी, तातोरचिसो खानेपानी, टिभी, टेलिफोन र उडानबारे थाहा पाउने डिजिटल डिस्प्ले बोर्ड राखिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार झट्ट हेर्दा भीआईपी कक्षजस्तो देखिन्छ । कुनै गुनासो भए यात्रुहरुले त्यहींबाट फोन गर्न मिल्ने गरी फोन सहित फोन नम्बर पनि राखिदिएका छौं,’उनले बताए । हाल ३० जना अट्ने विश्राम कक्ष रहेको र पछि त्यसलाई फराकिलो बनाउने योजना रहेको उनले जानकारी दिए ।

त्यसैगरी विमानस्थलको मुख्य प्रवेशद्वार (गोल्डेन गेट)देखि आन्तरिक टर्मिनल भवनसम्म यात्रुको आउ–जाउ गर्नका लागि निःशुल्क बस सेवाको बुधबार औपचारिक शुभारम्भ गरिएको छ । मन्त्री आलेले बुधबार बिहान निःशुल्क बस सेवाको पनि शुभारम्भ गर्नु भएको छ । ।

राजकुमार क्षेत्रीले गोल्डेन गेटदेखि आन्तरिक टर्मिनलसम्म आउ–जाउ गर्न तीन वटा बसको व्यवस्था मिलाइएको जानकारी दिए । ‘ती बसमा यात्रुहरु निःशुल्क यात्रा गर्न पाउँछन् । यो सेवाबाट महँगो पैसा खर्च गरेर ट्याक्सी चढ्नुपर्ने बाध्यतामा केही राहत मिल्ने विश्वास छ,’ क्षेत्रीले भने ।

भविष्यमा आन्तरिक टर्मिनल भवनदेखि अन्तर्राष्ट्रिय टर्मिनल भवनसम्म आउ–जाउ गर्न निःशुल्क यातायात सेवा सन्चालन गर्ने योजना रहेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्