महाधिवेशन उद्घाटनको संघारमा राप्रपामा किन भयो विवाद ?

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीमा महाधिवेशन उद्घाटनको संघारमा आइपुग्दा विवाद र लफडा सुरु भएको छ ।
पार्टीको महाधिवेशन प्रतिनिधिको सूचीलाई लिएर विवादलाई लिएर अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन पक्षबीच गए राति पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमै लफडा सुरु भएको हो ।
जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाकै निर्देशनमा हेरफेर गरेकोले उद्घाटनको संघारमा विवाद सुरु भएको लिङ्देन पक्षका नेताहरूले बताए ।

आज बिहान ९ बजेभित्रमा महाधिवेशनका मतदाताको सूची निर्वाचन समितिले प्रकाशित गर्ने भनिएकोमा थापा र लिङ्देन पक्षबीच विवाद हुँदा यो कार्यमा डिलाई भएको छ ।

राप्रपाले ३३० प्रदेश सभा क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ । महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो।

तर कतै दलित र कतै अल्पसंख्यकका प्रतिनिधि खाली थिए । लिङ्देन पक्षका नेताहरूले जिल्लाबाट खाली आएका प्रतिनिधिमा थापा पक्षले आफ्ना मान्छेुका नाम समावेश गरेको आरोप लगाएको छ । ‘लिङ्देनलाई भोट हाल्नेहरूको नाम हटाएर थापा पक्षले नयाँ सक्रिय सदस्य खडा गर्दै महाधिवेशन प्रतिनिधि बनाएको छ । कतै दलित र कतै अल्पंख्यकतर्फ खाली रहेको ठाउँमा आफ्ना मान्छे महाधिवेशन प्रतिनिधि बनाएको पाइएकोले विरोध गर्नुपरेको हो,’ लिङ्देन पक्षका एक नेताले भने ।

जिल्लाबाट पठाइएका महाधिवेशन प्रतिनिधिहरू र सक्रिय सदस्यताको सूचीमा हेरफेर गरेको पाइएकोले त्यसो नगर्न आफूहरूले गए राति पार्टी कार्यालयमै गएर आग्रह गरेको लिङ्देन पक्षमा खुलेका लमजुङका नेता हेमजंग गुरूङले बताए ।
‘जिल्लाबाट प्राप्त सूचीमा केही नाम हेरफेर गरेको गुनासो छ। अनाधिकृत मानिसहरू पार्टी कार्यालयमा बसेर नाम हेरफेर गरेको पाइयो, त्यसैले अब जिल्लाबाट प्राप्त सूची रूजु गरेपछि मात्रै मतदाता नामावली प्रकाशन हुन दिन्छौं,’ उनले भने।

‘धेरै ठूलो विषय त होइन, केही नाम गडबड गरेको भन्ने आएको छ,’ उनले भने, ‘जिल्लाबाट आएको सूचीमा उहाँहरू बसेर टिपेस लगाउने काम भएको भन्ने छ। पार्टी कार्यालयमा बस्न नपर्ने मानिसहरू पनि गए राति पार्टी कार्यालयमै रहेकोले आशंका उत्पन्न भयो,’ उनले भने।

उनले जिल्लाबाट आएका सक्रिय सदस्यताको सूची र महाधिवेशन प्रतिनिधिहरूको सूची एकपटक रूजु गरेपछि मात्रै मतदाता नामावली प्रकाशन गर्न दिइने बताए।
लिङ्देन पक्षले ७७ जिल्लाकै सक्रिय सदस्यको सूची रूजु गरेर मात्रै नामावली प्रकाशन गर्न निर्वाचन समितिलाई पनि आग्रह गरेका छन्। आज बिहान ९ बजेभित्र नै मतदाता नामावली प्रकाशन गर्ने भने पनि लिङ्देन पक्षको विरोधबीच यो कार्यक्रम रोकिने देखिएको छ ।

राप्रपामा चार हजार तीन सय महाधिवेशन प्रतिनिधि छन ।
राप्रपा केन्द्रीय कार्यालयका सचिव भाष्कर भद्राले सक्रिय सदस्य र महाधिवेशन प्रतिनिधिका विषयमा गए राति पार्टी कार्यालयमा सामान्य छलफलमात्रै भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्