ओलीको अर्को इनिङ, अध्यक्षमा निर्वाचित हुने निश्चित

काठमाडौं , मंसिर १४ । नेकपा एमालेको दसौं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुने निश्चित भएको छ। यस हिसाबले ओली दोस्रो पटक एमालेको नेतृत्वमा पुग्ने पक्का भएको छ।

उनी नवौं महाधिवेशनमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई हराउँदै अध्यक्ष बनेका थिए। नवौं महाधिवेशनमा ओलीले नेपालको भन्दा ४४ मत बढी पाएका थिए। अहिले भने ओली भारी मतान्तरले विजयी हुने सम्भावना छ।

दुईपटक प्रधानमन्त्री भइसकेका ओलीले दसौं महाधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्ने ठूलो कसरत गरेका थिए। तर नेता भीम रावलले उम्मेदवारी दिने घोषणा गरेपछि अध्यक्ष छान्न मतदानमा जानुपरेको हो। ओलीको सर्वसम्मत अध्यक्ष बन्ने कोसिसलाई रावलले अलोकतान्त्रिक भन्दै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

पदाधिकारीका केही पदमा निर्विरोध भए पनि १४ पदका लागि मतदान भएको छ। चितवनस्थित सौराहामा जारी बन्दसत्रअन्तर्गत सोमबार बिहान १० बजे उम्मेदवारी दर्ताको समय सकिएसँगै निर्वाचनको कार्यक्रम अघि बढेको हो। सोमबार बिहानै अध्यक्ष पदका लागि ओली र रावलले उम्मेदवारी दर्ता गराएका थिए।

ओलीको सूचीमा नपरेका निवर्तमान उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए। यसबाट ६ उपाध्यक्षका लागि सातजना उम्मेदवार मैदानमा देखिए। उपाध्यक्षहरूमा युवराज ज्ञवाली,अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा,विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम आइतबार राति घोषणा भएको थियो। त्यस्तै सातजना सचिवका लागि ९ जना मैदानमा छन्।

 

प्रतिक्रिया दिनुहोस्