काँग्रेसले सार्यो प्रदेश अधिवेशन : महाधिवेशन कार्यक्रम तालिका पनि फेरियो
काठमाडौँ , १३ मंसिर । नेपाली काँग्रेसले प्रदेश अधिवेशन २ दिन पर सारेको छ । सोमबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मंसिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको छ । केही जिल्ला अधिवेशन सम्पन्न नहुँदा तयारी नपुगेकाले प्रदेश अधिवेशन सारिएको उनको भनाइ छ ।
यस्तै केन्द्रीय महाधिवेशनका कार्यक्रम पनि प्रभावित भएको छ । अब काँग्रेसले महाधिवेशन उद्घाटनपछि मात्र उम्मेदवारी मनोनयनको कार्यक्रम सुरु हुने पौडेलले बताए । काँग्रेसले मंसिर २१ बाट महाधिवेशन कार्यक्रम सुरु गर्ने कार्यक्रम तालिका बनाएको थियो । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता नामावली (महाधिवेशन प्रतिनिधिको सूची) प्रकाशन हुनेछ ।
२२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने कार्यक्रम थियो । मंसिर २४ गते महाधिवेशन उद्घाटन गर्ने कार्यक्रमअघि उम्मेदवारी मनोनयन बाहेकको काम सम्पन्न हुने निर्वाचन समितिका सदस्य एकराज पोखरेलले बताए । मनोनयन दर्ता मंसिर २५ गते गर्ने नयाँ तालिका तयार पारेको उनले बताए ।
उनले भने, ‘महाधिवेशन उद्घाटनअघि महाधिवेशन प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्छौं । २४ गते महाधिवेशन उद्घाटन हुन्छ र २५ गते उम्मेदवारी दर्ता गर्न कार्यक्रम बनाएका छौं ।’ २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मत गणना २७ गते सुरु हुने पोखरेलको भनाइ छ । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्