नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न : जनसङ्ख्या करिब तीन करोड पुग्ने अनुमान
काडमाडौँ ,१० मंसिर। नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना बिहीबार सकिएको हो ।
नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्याङ्कले देखाएको छ । जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।
विभागका निर्देशक ढुण्डिराज लामिछानेले भन्नुभयो, “जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसङ्ख्या दुई करोड ८५ लाखदेखि तीन करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।” उहाँका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न छ देखि नौ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउने भएको छ ।
नेपालको कुल जनसङ्ख्या अन्र्तगत महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने छ । विभागका उपमहानिर्देशक डा .हेमराज रेग्मीले विभाग पुसदेखि करिब तीन सय जना तथ्याङ्क अभिलेखीकरण गर्न करारमा कर्मचारी भर्ना गरिने बताउनुभयो ।
उहाँका अनुसार मङ्सिरभित्र सबै जिल्ला तथा प्रदेश कार्यालय बन्द गरी फाराम केन्द्रीय तथ्याङ्क विभागमा ल्याउने तयारी छ । सरकारले जनगणना–२०७८ का लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्