हुम्लाको लिमीमा चामल ढुवानीका लागि हेलिकोप्टर पठाउन रक्षा मन्त्रालयलाई गृहको पत्र

काठमाडौं, मंसिर ९ । हुम्लाको नाम्खा गाउँपालिका– ६ स्थित लिमीमा चामल ढुवानीका लागि हेलिकोप्टर पठाउन गृह मन्त्रालयले रक्षा मन्त्रालयलाई बिहीबार पत्र काटेको छ। हुम्लाका जनप्रतिनिधिको पहलपछि त्यहाँ हेलिकोप्टर पठाउन थालिएको हो।

चामल सकिएपछि हेलिकोप्टरको व्यवस्था गरिदिन माग गर्दै नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र संघीय सांसद छक्कबहादुर लामा सोमबार साँझ काठमाडौं आएका थिए। उनीहरूले गृह मन्त्रालय र अर्थ मन्त्रालयमा पुगेर खाद्यान्न र ढुवानीको व्यवस्था गरिदिन माग गरेका थिए।

गृह मन्त्रालयले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई हिल्सा खाद्य स्टोरमा रहेको चामल नाम्खामा पठाउन निर्देशन दिएको थियो। तर, चामल ढुवानी गर्नका लागि हेलिकोप्टर चाहिने भएकोले गृहले रक्षा मन्त्रालयलाई बिहीबार पत्र लेख्दै हेलिकोप्टरको व्यवस्था मिलाइदिन भनेको हो। नाम्खा– ६ का वडाध्यक्ष तामाङ र संघीय सांसद लामा अहिले काठमाडौंमै छन्।

उनीहरूले तीन दिनदेखि कोसिस गरे तापनि गृहमन्त्री र अर्थमन्त्रीसँग भेट गर्न भने पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्